काठमाडौँ उपत्यकाको तापक्रम आज  यस वर्षअन्तर्गतकै कम

काठमाडौँ । आज (सोमबार) काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम मापन गरिएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “काठमाडौंमा २०८० र सन् २०२४ मा यो तापक्रम अहिलेसम्मकै कम हो,” उनले भनिन् ।

यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २० गते मापन गरिएको थियो । पुस २० गते (शुक्रबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको शनिबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो ।