आज कोशी, बागमती र गण्डकीका उच्च भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।