सुन तस्करी हुन थालेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवा - रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेकोे हो ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । 

केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन पाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।