आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ : प्रधानमन्त्री दाहाल

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री दाहालले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग युएसएआइडीका प्रमुख प्रशासक सामन्था पावरले आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै भने, “नेपालको इतिहास नागरिकको सङ्घर्ष र योगदानका आधारमा निर्मित छ, यस्तो सङ्घर्ष स्वतन्त्रता, न्यायिक अधिकार, समानता र सशक्तीकरणका लागि भएको थियो ।”

नेपालले २००७ सालमा सम्पन्न गरेको जहानियाँ राणाशासन र २०४६ सालको प्रजातन्त्रको लडाईंको स्मरण गर्दै उनले भने, “नेपालको इतिहास जहानियाँ शासनविरुद्धको आन्दोलन सन् १९५० देखि सुरु भएको हो ।  त्यो सन् १९९० मा थप सशक्तरूपमा देखापरेको थियो ।”