आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको उल्लेख गरे । ‘समृद्धिका लागि सुशासन पूर्व शर्त जस्तै बन्न पुगेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सुशासन कायम गर्ने, समृद्धिको यात्रा र प्रक्रियालाई तीव्रता प्रदान गरेर फड्कोको विन्दुमा पुर्‍याउने र त्यसपछि सामाजिक न्यायसँगसँगै सुनिश्चित गर्ने भन्ने लक्ष्यसहित सुशासनलाई प्राथमिकता दिएका छौँ ।’

सरकारले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा र सुदृढीकरणप्रति दृढ रहँदै सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो तत्कालिन कार्यभारको मूल मन्त्र बनाएर अघि बढेको उनले उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले कानुनको शासन स्थापित लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले यस दिशामा सरकार सक्रियताका साथ लागेको बताए । उनले भने, ‘कानुनी शासन स्थापित गर्नका निम्ति राज्यले समग्ररुपमा भूमिका खेल्नुपर्छ, राज्यले मात्र हैन, राज्यअन्तर्गतका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ, मुख्य जिम्मेवारी राज्य र सरकारको हो ।’