'एक सातामै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था हुन्छ' :  यातायात मन्त्री ज्वाला

भक्तपुर - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र लाइसेन्स लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । पूर्व अरनिको यातायात प्रालिले सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए ।

मन्त्री ज्वालाले भने, ‘सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।’