भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

 काठमाडौँ - विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये सात सय ७० को पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १८ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सात सय ७० सम्पदाको पुनःनिर्माण भएको छ ।

हाल ७० सम्पदाको पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए । ८० सम्पदाको अझै काम सुरु हुन सकेको छैन । पर्याप्त बजेट नआउनु, प्राविधिक जनशक्ति र निर्माण सामग्री अभावलगायत कारण ८० सम्पदाको पुनःनिर्माण सुरु हुन नसकेको हो । विभागमा हाल २० जनामात्र इन्जिनियरको दरबन्दी भएकाले पनि काममा ढिलाइ भएको जनाइएको छ ।