नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : मन्त्री शर्मा  

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने बताएकी छन् ।

आइतबार मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले नेपालबाट गत आर्थिक वर्षमा मात्रै ६७ अर्ब बराबरको सफ्टवेयर निर्यात भइरहेको एक अध्ययनबाट देखिएको बताइन् ।

युवा पलायन रोक्न, देशभित्रै रोजगारी सिर्जना गर्न र बिना अवरोध स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरिन् । 

प्रविधि र प्रणालीहरूको सुरक्षित र जवाफदेही प्रयोग, एवं डिजिटल इकोसिस्टम निर्माणका लागि आवश्यक कानुनहरू सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माणलाई तीब्रता दिएको पनि बताइन् ।