रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने 

काठमाडौँ - महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै उनले सोमबार यस्तो निर्णय लिएका हुन् । 

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले चार आधार देखाएर लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेका थिए । ‘प्रहरीले मुद्दा चलाउन नपर्ने रायसहितको प्रतिवेदन दिएको, सन् २०१५ मा लिएको राहदानी दुरुपयोग गरेको भन्ने आरोप लागेकामा अध्यागमन विभागको रेकर्ड हेर्दा राहदानी दुरुपयोग भएको नदेखिएको, विदेशी नागरिक भएपछि नेपाली राहदानी निकालेको भन्ने आरोप लागेकामा अमेरिकी नागरिकता प्राप्त गर्नुअघि नेपालको वंशजको नागरिकता प्राप्त गरेको देखिएको र उनी विदेशी नागरिक नभई गैरआवासीय नागरिकका रूपमा रहेको देखिएको र जुन नागरिकताका आधारमा राहदानी निकालेको हो, त्यो सर्वोच्च अदालतको आदेशले कायम नरहेको तथा जुन राहदानी दुरुपयोग भएको भनिएको हो, त्यो राहदानी अहिले लामिछानेले त्यागिसकेको देखिएको’ भन्ने आधारमा निर्णय गरिएको थियो ।

सहन्यायाधिवक्ता र नायब महान्यायाधिवक्ताले जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गरी आइतबार महान्यायाधिवक्ताकहाँ फाइल पेस गरेका थिए । सोही आधारमै टेकेर मुद्दा नचल्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

 पोखरेलले संविधानको धारा १५८ २ मा ‘कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष नेपाल सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुने’ व्यवस्थामा टेकेर लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय लिएका हुन् ।