पुस १० गतेको सहमति तोडिए प्रचन्ड सरकार अप्ठ्यारोमा पर्छ : पद्मा अर्याल

म्याग्दी  - नेकपा (एमाले) का केन्द्रीय सचिव पद्मा अर्यालले गत पुस १० गतेको सहमति तोडे नेकपा (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार समस्यामा पर्ने बताएकि छन् । मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् । 

‘पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति पद एमालेले पाउनुपर्छ । माओवादीले पनि सहमतीको पालना गर्नुपर्छ’ उनले भनिन्। माओवादीले सहमति पालना नगरे एमालेसँग अन्य धेरै विकल्प रहेको उनको भनाइ छ ।

राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन चर्चा गर्नुहुँदै पूर्वमन्त्री अर्यालले पुस १० गतेको सहमति तोडिए राजनीतिले नयाँ कोर्स लिने दावी गरे। वर्तमान गठबन्धन नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जागेकाले यसलाई जोगाएरै जाँदा मुलुक र जनताको हित हुने सचिव अर्यालले बताइन्।

पार्टी सङ्गठनलाई थप सुदृढ र विस्तार गर्न एमालेले फागुन र चैत गरी दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उनले चर्चासमेत गरिन् ।