राप्रपा नेपालले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्ने भएको छ ।

पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आजदेखि आन्दोलन सुरु गर्न लागेको हो। काठमाडौंको भृकुटी मण्डपमा हुने आन्दोलनमा पार्टीका शीर्ष नेताको सहभागिता रहने प्रवक्ता मोहन श्रेष्ठले बताए।

आन्दोलनका लागि राप्रपाले समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवीलाई आग्रह गरेको छ।

राप्रपा संसदीय दलका उपनेता बुद्धिमान तामाङले पार्टीले देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन्। उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न चेतावनी दिए।

उनले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे।

पार्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन शुरु गर्न लागेको बताए। उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरूलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे।

सांसद जबराले आफूहरूका लक्ष्य प्राप्ति भएपछि मात्रै आन्दोलन रोकिने बताए।