राष्ट्रपति एमालेलाई दिने सहमति टार्दै ‘परिस्थिति बदलिएको’ माओवादी निष्कर्ष

 काठमाण्डौँ - राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति टार्दै नेकपा माओवादी केन्द्रले ‘परिस्थिति बदलिएको’ निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सोमबार साँझ बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको चुनावका विषयमा व्यापक छलफल गरेको छ । बैठकमा माओवादीको स्वार्थ अनुसार राष्ट्रपतिको उम्मेदवारलाई सघाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

पदाधिकारी बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिंदै प्रवक्ता महराले भने, “हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भयो । गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्ग्याउने नै हाम्रो मुख्य स्वार्थ हो ।”

यी तीनै कुरामा केन्द्रित भएर राष्ट्रपतिको चुनावका विषयमा छलफल भएको उनले बताए। माओवादी पदाधिकारी बैठकको आजको अजेन्डा राष्ट्रपतिको चुनावको विषय मात्रै रहेको थियो । बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिका विषयमा जानकारी गराएका थिए । त्यससँगै उनले राष्ट्रपतिको चुनावका विषयमा विभिन्न राजनीतिक दल र नेताहरूसँग भएको छलफलका विषयमा पनि जानकारी गराए ।