राष्ट्रपति पदकै कारण सत्ता गठबन्धन फुट्दै

काठमाडौँ - आगामी राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धन भत्कने अवस्थामा पुगेको छ । सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी गर्दै आएको राष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले सहयोग नगर्ने भएपछि गठबन्धन फुट्ने संकेत देखिएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रपतिका विषयमा कुनै सहमति नभएको माओवादीका नेताहरूले बताइरहँदा नेपाल कम्युनिस्ट पार्टी एमालेले भने राजनीतिक सहमतिअनुसार राज्यका शक्ति बाँडफाँट गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएको छ । 

एक हप्तादेखि साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सोमबार पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । यसलाई सत्ता साझेदार दल एमालेलाई राष्ट्रपति नदिने रणनीतिको रूपमा एमालेले लिएको छ ।