औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन: मन्त्री भण्डारी

दोधारा चाँदनी - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उनले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताए ।

“सरकारले सुदूरपश्चिममा रहेका सम्भावनाको अध्ययन गरिरहेको छ”, मन्त्री भण्डारीले भने, “यहाँका फलाम खानीलगायतका सम्भावनाको अध्ययन गर्न सुदूरपश्चिममा टोली खटिएको छ ।” उनले औद्योगिक क्षेत्रसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको कामसमेत छिट्टै सञ्चालन हुने बताए ।

“औद्योगिक क्षेत्रमा देखिएको जग्गाको भोगाधिकारको समस्या एक महिनाभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर समाधान गर्छु”, उनले भने, “भारतसँगको पारवहनका लागि सुक्खा बन्दरगाहको काम पनि केही समयमा सुरु हुँदैछ ।”