काठमाडौंका घरबेटीका लागि महानगरको नयाँ नियम, के-के छन् निर्देशिकाहरु ? 

काठमाण्डौँ - काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ । घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्ने भएको छ । 

घरबेटीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने भनेको डेरावालासँगको सम्झौता हो, काठमाडौं महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, अबदेखि घर बहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्छ । भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक(एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ । पछि घर खाली हुँदा पनि घरबेटीले यसरी नै सम्बन्धित वडा कार्यालयमा गएर सूचना दिनुपर्ने उनले बताए । 

उनका अनुसार सम्झौतापत्रमा बहाल लिने(दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ । घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ ।

तत्कालका लागि घर बहालमा दिने सबैलाई करको दायरामा ल्याउनु यो निर्देशिकाको मुख्य उद्देश्य हो, उनले भने, अन्य ठाउँभन्दा काठमाडौं महानगरमा धेरै मानिस विभिन्न प्रयोजनका लागि भाडामा बस्ने गर्छन्। तैपनि घर बहाल कर तिर्नेको संख्या निकै कम छ । हामी यो दायरा विस्तार गर्न चाहन्छौं ।

उनका अनुसार आर्थिक वर्ष २०७७र७८ मा घर बहाल कर तिर्नेको संख्या जम्मा ३ हजार ९ सय थियो। आर्थिक वर्ष २०७८र७९ मा यो संख्या बढेर ९ हजार पुगेको छ ।

त्यस्तै, घर बहालसम्बन्धी विवरण महानगरपालिकामै गएर बुझाउने हो कि भन्ने पनि धेरैलाई लागेको छ । घर खाली भएको जानकारी गराएपछि अर्को डेरावाला नआएसम्मको कर तिर्नु नपर्ने पनि  बताए । जानकारी नगराएको खण्डमा भने महानगरलाई नियमित कर तिरिरहनुपर्छ। कसैले बिनाजानकारी कर तिरेन भने पछि जरिवानासमेत लाग्नेछ । यो वर्ष कम्तिमा तीन लाख जनालाई करको दायरामा ल्याउने महानगरको उद्देश्य रहेको उनले बताए ।

भाडा कति वृद्धि हुने, बिजुली पानीको शुल्क कसले बुझाउने, बहाल कर कसले बुझाउने, घर मर्मत कसले गर्ने जस्ता विषय पनि सम्झौतामै उल्लेख गर्नुपर्ने छ, उनले भने, बहाल रकम वार्षिक ५ प्रतिशत वा दुई वर्षमा १० प्रतिशतसम्म मात्र बढाउन पाइने छ। सम्झौतामा बहाल करसम्बन्धी विषय उल्लेख नभएको अवस्थामा घरधनीले नै कर बुझाउनुपर्ने छ ।