राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले ज्ञापनपत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए ।

उनले भने, ‘आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र दिएका छौँ र औपचारिक रूपमा जनदबाबका कार्यक्रम सुरु गरेका छौँ । त्यसमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेका छौँ । देशको स्थिति यो अवस्थामा पुग्यो की अब यो यहीँ रही राख्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन । अब देश यहीँ पनि बसिरहन सक्दैन । अब नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ ।’

उनले देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताउँदै सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए । अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरूको माग रहेको बताए ।

उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे ।