देव गुरुङले भ्रष्टाचार गरेको माओवादी नेताकै आरोप

काठमाडौँ ।  माओवादी केन्द्रकै  नेताले सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई रुकुम जाजरकोट भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले गुरुङलाई यस्तो आरोप लगाएका हुन् । भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीले आरोप लगाएका छन् ।

केसीले राहत सामग्रीमा करोडौँ रकम अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका हुन् । रुकुम पश्चिमका राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको थियो ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो ।

सो घटनामा केसीमाथि गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि उल्टै अनियमितताको आरोप लगाउँदै छानबिनको माग गरेका हुन् ।