संसदको महासचिव नियुक्ति  गर्न  राष्ट्रपतिलाई सभामुख र राष्ट्रियसभा अध्यक्षको अर्को पत्र

काठमाडौँ । संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियालाई शीतल निवासले करिब डेढ महिनादेखि अड्काइदिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई अर्को पत्र लेखेका छन् ।

मंसिर २५ गते तत्कालीन महासचिव डा। भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस अलपत्र परेपछि संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखिएको हो ।

सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग गरेको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै संसदको महासचिव नियुक्तिमा आफूले गर्नुपर्ने सिफारिस गरिसकेको बताएका थिए ।

सभामुख घिमिरेले माघ ४ गते स्मरण पत्र पठाएको राष्ट्रियसभा अध्यक्षका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।