लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा  एक जनाको मृत्यु, दुई घाइते  

काठमाडौँ । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको दोर्दी गाउँपालिका- ४, नौथर सेराबाट कामचोक जाँदै गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ ५स्४० बजेको समयमा दुर्घटना भएको हो। कामचोक गाउँ नपुग्दै चौतारो मुनितिर जिप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए।

दुर्घटना परी मृत्यु हुनेमा दोर्दी गाउँपालिका- ४, का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। उनका अनुसार दुर्घटना परी दुई जना घाइते भएका छन्।

घाइते हुनेहरूमा दोर्दी गाउँपालिका- ४ बस्ने ५४ वर्षीया गंगामाया गुरुङ र सोही ठाउँ बस्ने ४७ वर्षीया मनी तामाङ छन्। उनीहरुको अवस्था मध्यम रहेको छ।

घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम बेशीसहर ल्याइएको छ। जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।

जिपमा चालकसहित ६ जना सवार थिए। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।