इलाम बस दुर्घटना : रुखमा अड्किएका बालकको मृत्यु, ३७ घाइते

 इलाम - इलामको कन्याम घुमेर फर्किने क्रममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । बस खस्दा उछिट्एिर रुखमा अड्किएका बालकको मृत्यु भएको हो । बसमा सवार ३७ मध्ये १२ जना गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा रहेका छन् । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट तीन सय मिटर जति तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा एक बालकको मृत्यु भएको पुष्टि गरे ।

उनले दुर्घटनास्थलबाट ३२ जनाको प्रहरीले उद्धार गरेकोमा १२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । बसमा सवारमध्ये धेरै विद्यार्थी थिए । बस सडकबाट तीन सय मिटर तल खोँचमा खसेका कारण बसमा सवार सबै घाइते भएको प्रहरीले जनाएको छ । बसबाट उछिट्टिएका केही यात्रुहरू रुखको हाँगामा समेत अड्किएका कारण उद्धारमा कठिनाइ भएको थियो ।