इलाम दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

 विराटनगर - इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।

घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै वर्ष ३५ की मनवति लामा र वर्ष ६० कि शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

मनवतीको उपचारको क्रममा हिंजो राती ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो भने तामाङको आज बिहान ९ बजेर २० मिनेटमा मृत्यु भएको हो ।  अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ ।  प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।