आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

काठमाडौँ - सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिँदैछ । नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । आइतबार व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको थियो ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन यो व्रत शुरु गरि सप्तमीको दिन समापन गरिन्छ ।