क्यानडामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतको आग्रह

काठमाण्डौँ - भारत सरकारले क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । बु्धबार भारतको विदेश मन्त्रालयले क्यानडामा रहेका भारतीय नागरिक र विद्यार्थीहरूलाई सावधानी अपनाउन आग्रह गरेको हो । 


खालिस्थानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर दुई देशबीच तनावको स्थिति सृजना भएपछि क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन भारतले एडभाइजरी जारी गरेको हो । यसअघि मंगलबार राति क्यानडाले पनि भारतमा रहेका आफ्ना नागरिकहरूलाई  उच्चसतर्कता अपनाउन एडभाइजरी जारी गरेको थियो । 

क्यानडाले आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै भारतमा अति सावधानी अपनाउनु भन्दै अतिआवश्यक कामबाहेक क्यानडाविरोध गतिविधि हुने स्थानको भ्रमणमा नजान भनेको थियो । 

विशेषगरी  विद्यार्थीहरूलाई अत्याधिक सावधानी अपनाउन र सतर्क रहन भारतले अनुरोध गरेको छ । भारतले जारी गरेको एडभाइजरीमा भनिएको छ,ुक्यानडाले दिएको धम्कीले भारतीय समुदायलाई निशाना बनाइएको छ ।  यी धम्कीहरूले विशेषगरी भारत विरोधी एजेन्डाको आलोचना गर्नेहरूलाई लक्षित गरेको छ। यसकारण क्यानडामा भारतविरोधी घटना भइरहेको क्षेत्र र संभावित स्थानहरूमा यात्रा नगर्न अनुरोध छ ।

यसअघि मंगलबार कूटनीतिज्ञलाई देश निकाला गर्न दुई देशबीच प्रतिष्पर्धा नै चलेको थियो। क्यानडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

भारत सरकारले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ। गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए। उनको मृत्य विवादले दुई देशबीच तनावको स्थिति सृजना भएको छ ।