तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

काठमाण्डौँ - सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन ।
 राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । सांसद विमला घिमिरेले दिनहँ तस्करीका समाचार बढिरहेको र बुधबार मात्रै धेरै परिणामको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको भन्दै उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिए ।

 सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौँ राजस्व गुमेको भन्दै तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानविन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गरे ।

 सांसद तारामान स्वाँरले सुदूरपश्चिमका सबैजसो जिल्ला र विशेषगरी कैलाली र कञ्चनपुर क्षेत्रमा लागुऔषधको तस्करी र ढुवानीकर्ताको बिगबिगी बढिरहेको र यसले अपराधजन्य घटनासमेत बढाइरहेको भन्दै यसलाई नियन्त्रण गरी कानुनी दारयामा ल्याउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।