चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौँ - चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज सोमवार समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

काठमाण्डौको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा चार दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमतिपत्रमा माअ‍ोवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् ।

नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । मोर्चाले दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्नेछ । मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ ।