'बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता' : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ - केहीदिन अघि पूर्वी क्षेत्रमा आएको बाढिपहिरोका कारण हालसम्म १० जनाको मृत्यु भएको भने २६ जना बेपत्ता भएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्राकृतिक प्रकोपका बिषयमा जानकारी गराउदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन प्रवेश गरेपछि पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको र बाढीपहिरोका कारण १० जनाको मृत्यु, ६ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी दिएका हुन् ।

बाढीपहिरोका कारण ५४ घर पूर्णरुपमा क्षति भएको पनि उनले जानकारी गराएका छन् । गृहमन्त्री श्रेष्ठले विपद्को घटनापछि प्रभावित क्षेत्रमा राहत र उद्दारका साथै वेपत्ताको खोजी कार्य तीव्र गरिएको बताए । अवरुद्ध सडक खुलाउनका लागि बेलिव्रिज निर्माण गर्ने कार्यलाई पनि अघि बढाइएको श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री लगायको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा गएको र मौसमका कारण तुम्लिङटारबाहेक अन्यत्र जान नसकिएको जानकारी पनि श्रेष्ठले सदनलाई गराएका छन् ।