तत्कालिन एमालेसँगको एकता हतारमा भएको प्रचण्डको निष्कर्ष

काठमाडौँ - प्रधानमन्त्री तगा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७५ जेठ ३ गते नेकपा नबनाइ समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि भन्ने विचार व्यक्त गरेका छन्। सोमबार समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमालेसँगको एकता हतारमा भएको निष्कर्ष बताएका हुन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनु नपर्ने बताएका छन् । तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए ।

कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।

‘कमरेडहरू केही वर्ष पहिले यही हलमा हो। यही रोष्ट्रमबाट नेकपा बनाउने घोषणा गरेका थियौं। मैले लामो व्याखा गर्नु छैन, हामीले निकै ठूलो भरोसा गरेका थियौं र अपेक्षा पनि गरेका थियौं। नेकपाले देशलाई समाजवादको बाटोमा, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउने छ भन्ने निकै ठूलो विश्वास लिएका थियौं, हामीले माओवादी केन्द्रका हैसियतले नेकपा गठनको निम्ति मैले प्रस्तावकको भूमिका खेलें,’ उनले त्यतिबेलाको परिघटना स्मरण गर्दै भने, ‘दुर्भाग्य जनताको र आम कार्यकर्ताको अपार समर्थर उत्साहको बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौं।’

झन्डै दुई तिहाइ बहुमतमा पुगेको जनसमर्थन र देशका सबै नेता कार्यकर्ताहरूको हृदयदेखिको समर्थनलाई नेताहरूले बचाउन नसकेको प्रचण्डको निचोड थियो ।