डढेलो घटना : एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा आगलागि

काठमाडौँ - पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो ।

बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।