राष्ट्रप‌ति उम्मेदवारले बहुमत नपाए फागुन २६ फेरि मतदान हुने

काठमाण्डौँ - फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नपाएमा फागुन २६ गते फेरि मतदानको तयारी गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ ।

त्यसका लागि सोमबार एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरेका छन्। आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने थपलियाले बताए ।

पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त नभएकाले विद्यमान कानून अनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको उनले बताए । प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको बताए। कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने थपलियाले बताए। मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ ।