प्रचण्डका खास दिन : पुस १० ले प्रधानमन्त्री बनायो, २६ ले अविश्वास जन्मायो

काठमाडौं - नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस महिना खास देखिएको छ। मंसिरमा सम्पन्न चुनावमा प्रचण्डको दल माओवादी केन्द्र कमजोर हैसियतमा तेस्रो दल भए पनि उनी पुस महिनाले तेस्रो पटक प्रधानमन्त्री बनाएको छ।

तर , यही पुस महिनाकै एक अर्को दिन २६ गते सदनमा प्राप्त गरेको अभूतपूर्व विश्वासको मतले सत्ता साझेदार दलकोे उनीप्रतिको विश्वसनियता नै गुमाउँदै लगेको देखिन्छ।

गएको निर्वाचनमा कांग्रसेसँग गठबन्धन गर्दै चुनावमा होमिएका प्रचण्ड त्यसयता फेरि एमालेसँग सत्ता सहकार्य गर्न पुगेका थिए। कांग्रेससँग बार्गेनिङ चलिरहेको बेला अचानक एमाले अध्यक्ष केपी आली निवास बालकोट पुगेर पुस १० गते प्रधानमन्त्री बनेका थिए।

त्यस लगत्तै १६ दिनपछि उनले पुस २६ गते संसदबाट अविश्वसनीय रुपले विश्वासको मत प्राप्त गरे। उनले सदनका बहुसंख्यक सांसदहरुको मत प्राप्त गर्न सफल भए।

यसले उनलाई सबैको विश्वास आर्जन गरेको अनुभूति दिलायो तर आफैंलाई प्रधानमन्त्री बनाएको एमाले सशंकित रहेकोमा उनी कति जानकार थिए? या त्यो उनको कुटनीतिक कदमको उपज थियो? प्रश्न अनुत्तरित छ तर त्यसको सम्भावित परिणाम केही दिनयता बिस्तारै छरपष्ट हुँदैछ।