नामिबियाको लगातार चौथो हार, नेपाललाई फाइदा

काठमाडौँ - त्रिदेशीय शृङ्खलाको पाँचौं खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो। स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबिया ३८.४ ‌ओभरमा १७८ रनमा समेटियो।

नामिबियाका लागि लो-हन्ड्रे लोरेन्सले ५२ र जेहार्ड इरसमसले ४३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको थियो। स्कटल्यान्डका लागि क्रिस्टफोर म्याकब्रिडले ४७, टमस क्याकिन्टसले ३४, रिच ब्रिङ्टनले ३२ र मिचेल लिस्कले २९ रन बनाएका थिए। त्यस्तै, नामिबियाका लागि रुबेन ट्रम्पेलमनले पाँच, टांगेनी लुंगामेनीले दुई, बेनार्ड स्कल्ज, बेन सिकांगो र पिक्की या फ्रान्सले एक-एक विकेट लिएका थिए।

यो खेलसँगै विश्वकप लिग-२ का १२५ खेल सकिएका छन्। स्कटल्यान्ड ५० अङ्क सहित शीर्षस्थानमा छ। अझै दुई खेल खेल्न बाँकी छ। लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्क सहित दोस्रो स्थानमा छ। दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन्।

सात टोली रहेको लिग-२ बाट शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन्। अब तेस्रो टोलीका लागि प्रतिस्पर्धा जारी छ।

अहिले तेस्रो नम्बरमा रहेको नामिबियाले ३४ खेलमा ३७ अङ्क बटुलेको छ। अब नामिबियाका दुई खेल बाँकी छन्। त्यस्तै, चौथो स्थानमा रहेको अमेरिकाले ३५ अङ्क जोडेको छ। अमेरिकाले लिग चरणका सबै खेल खेलिसकेको छ।

पाँचौं स्थानमा रहेको यूएईले २६ खेलमा २७ अङ्क जोडेको छ। अझै १० वटा खेल खेल्न बाँकी छन्।यसैगरी, छैटौं स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ। नेपालका नौ खेल बाँकी छन्।

पुछारमा रहेको पपुवा न्यूगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ। पपुवा न्यूगिनीका आठ खेल बाँकी छन्।

लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन्। नामिबियाले बाँकी दुई खेल यूएईसँग खेल्नेछ। दुवै खेल जितेमा नामिबियाको ४१ अङ्क हुनेछ।

त्यस्तै, नेपालले बाँकी नौ खेलमध्ये एक खेल मंगलबार कीर्तिपुर मैदानमै स्कटल्यान्डसँग खेल्नेछ। त्यस्तै, बाँकी चार खेल यूएईसँग र चार खेल पपुवा न्यूगिनीसँग खेल्नेछ। नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित त्रिदेशीय शृङ्खला अर्को साताबाट यूएईमा हुनेछ।

नामिबियाले अबका दुई खेल जिते पनि नेपालले सबै खेल जितेको खण्डमा ४२ अङ्क हुनेछ। नेपालसँग प्रतिस्पर्धामा रहेको नामिबियाको ४१ अङ्क मात्रै पुग्नेछ। त्यस्तै, नेपालले सबै खेल जितेमा यूएईको पनि तेस्रो स्थानका लागि अङ्क पुग्नेछैन।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेल मंगलबार नेपाल र स्कटल्यान्डबीच हुनेछ।
https://www.himalkhabar.com/news/134494