नेपालमा घट्यो बाल मृत्युदर र कुपोषण

काठमाडौँ - सन् २०१६ मा प्रति एक हजार जन्ममा पाँच वर्षमुनिका ३९ बालबालिकाको मृत्यु हुन्थ्यो भने २०२२ मा त्यो संख्या घटेर ३३ पुगेको नेपाल डेमोग्राफिक हेल्थ सर्भेको प्रारम्भिक रिपोर्टले जनाएको छ।

त्यस्तै, प्रति एक हजार जन्ममा सन् २०१६ मा एक वर्षभित्र ३२ बालबालिकाको मृत्यु हुन्थ्यो भने सन् २०२२ मा त्यो संख्या घटेर २८  पुगेको छ। तर, जन्मेको एक महीनामा हुने नवजात शिशुको मृत्यु भने सन् २०१६ यता (प्रति एक हजार जन्ममा २१ जना) घटेको छैन।

त्यस्तै, कुपोषणको स्थिति पनि सुधार भएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणका अनुसार, पाँच वर्षमुनिका बालबालिकामध्ये २५ प्रतिशतको समग्र विकास भएको छैन। जुन सन् २०१६ मा ३६ प्रतिशत थियो। त्यस्तै, सन् २०१६ मा उचाइ अनुसार १० प्रतिशत बालबालिकामा तौल पुगेको थिएन भने त्यो संख्या अहिले आठ प्रतिशतमा झरेको छ। यसै गरी, पाँच वर्षमुनिका एक प्रतिशत बालबालिकाको तौल बढी देखिएको छ।

जन्मेको १२ देखि २३ महीनामा लगाउनुपर्ने खोपको पहुँचमा पनि सुधार भएको छ। सन् २०१६ मा ७८ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका थिए भने त्यो संख्या अहिले ८० प्रतिशतमा पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नेपाल डेमोग्राफिक हेल्थ सर्भेको प्रारम्भिक नतीजा अनुसार, १५ देखि १९ वर्षभित्रका १४ प्रतिशत महिला गर्भवती भएका छन्, जसमा १० प्रतिशत जीवित बच्चा जन्मेका छन् भने दुई प्रतिशतको गर्भावस्थामा बच्चा गुमेको छ। यो उमेर समूहमा सबैभन्दा बढी गर्भावस्था कर्णाली प्रदेशमा २१ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा आठ प्रतिशत रहेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच वर्षमा डेमोग्राफिक एन्ड हेल्थ सर्भे गर्दै आएको छ।
https://www.himalkhabar.com/news/133227