चितवको खैरहनीमा एक पुरुषको शव फेला

काठमाडौँ । चितवनको खैरहनी नगरपालिका १३ गौवाको केराघारीभित्र एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाइसेन्स भेटिएको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरि पाठकको जग्गामा एकला महतोले लगाएको केराघारीभित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौ‌का एक व्यक्तिले मौरी चरनका लागि खटाएका थिए । शवको पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।