वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो, ६ महिनामा ३ लाख बढी विदेशिए 

काठमाडौँ - वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९र८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका विभागले जनाएको छ ।