'आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ' : सांसद यादव

काठमाडौँ - सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक संख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्छन् ।

संविधानसभाबाट संविधान जारी भएपछि दुई पटक आमनिर्वाचन भई मुलुक अघि बढिरहेता पनि संसदीय अभ्यास भने कमजोर नै रहेको उनको बुझाइ छ । सांसद यादव भन्छन्, ‘संसद् र संसदीय समितिका बैठकमा समयमै उपस्थित भई देश र जनता सरोकारका विषयवस्तु र विधेयकमाथि हुने छलफलमा प्रशस्त समय दिएर सांसदले काम गर्नुपर्छ, तर सबै त्यसैमा केन्द्रित भई काम जस्तो लाग्दैन ।’

नेपाल विद्यार्थी सङ्घको सदस्यता प्राप्त गरी विसं २०३६ बाट राजनीतिक यात्रामा प्रवेश गरेका यादव विसं २०३७ देखि २०५२ सङ्गठनको जिल्ला सभापति, केन्द्रीय सदस्य, पार्टीको जिल्ला सभापति हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

उनले सांसदले आफ्नो कर्तव्य र जिम्मेवारप्रति सधैँ सजग र सचेत भई सदनमा हुने छलफलमा सहभागी हुनुपर्नेमा जोड दिन्छन् । विधेयकमाथि हुने छलफलका लागि जनप्रतिनिधिले गहन अध्ययन र विश्लेषणसहित प्रस्तुत हुनुपर्छ भन्दै सांसद यादवले संसद् र विषयगत समितिका बैठकलाई नियमित गरिएमा सांसद अन्यत्र नअल्मलिने अवस्थै नआउने धारणा राखे ।

सङ्घीय संसदीय लोकतान्त्रिक गणतन्त्र रहेका मुलुकहरूको अन्तर्राष्ट्रिय अभ्यास हेरेर संसद्लाई कसरी मर्यादित तुल्याएर लैजान सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले आवेग र आक्रोशमा बोल्ने नभई शान्ति र मर्यादाभित्र रही प्रस्तुत भएमा सदन र सांसदको मर्यादा बढेर जाने तर्क गर्छन् ।