एमालेमा केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर, सातवटै प्रदेशको अधिवेशन मिति सार्वजनिक

काठमाण्डौँ - नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ ।

काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाण्डौको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इञ्चार्ज तोकिएको छ । केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका केशव स्थापित र प्रमोदनारायण यादवलाई पदमुक्त गरिएको एमालेको अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।

अपानिमार्फत् एमालेले जनसङ्गठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ । सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न खोजिएको एमालेको भनाइ छ । 

पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय भएको एमालेले जनाएको छ । 

यस्तै, एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, असोज १० र ११ गते बाग्मती प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ । एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि चयनको विधि तय गर्ने भएको छ ।