'भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी पार्टीले बोकेर हिँड्दैन' : गगन थापा

 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति उनले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।

‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने । नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताए ।

भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ। उनले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औंल्याए। अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए ।