'बूढीगण्डकी आयोजना अघि बढाउन अब कुनै द्विविधा छैन' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताएका छन् । उनले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए । 

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिए । प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गरे । 

“बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ । यस आयोजनाका निम्ति कम्पनी खडा गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भई काम अगाडि बढाउने तयारी भइरहेको छ । जग्गा अधिग्रहणको मूल हिस्सा सम्पन्न भएको छ”, प्रधानमन्त्री दाहालले भने, “सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई उच्च प्राथमिकतामा राखिएको छ ।”