सहकारी ठगी आरोपमा वडा सदस्य पक्राउ

काठमाडौँ । सप्तरीमा एक सहकारी ठगीको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । राजविराज नगरपालिका ३ का वडा सदस्य सिद्धार्थ तातेडलाई प्रहरीले पक्राउ गरेको हो ।

राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा बिहीबार पक्राउ गरेको हो ।

आफुहरुले बचत गरेको रकम फिर्ता नगरेपछि ४५ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी  गरेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरी तातेडसहित सातजनालाई प्रतिवादी बनाएर १९ साउन ०८० मै मुद्दा दर्ता गरेको थियो ।
उजुरी परेको एक वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो  भने अन्य ६ जना अझै फरार रहेका छन् ।

प्रहरीले पक्राउ परेका तातेडको सम्बन्धमा अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतबाट म्याद लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।