६ देशका लागि प्रस्तावित राजदूतहरु को-को हुन् ? सरकारद्धारा गुनासो तथा उजुरी आह्वान !

काठमाडौँ - ६ वटा देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

सिंहदरबारमा बुधबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरूको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।