शालीन पोखरेल मृत्यु प्रकरण :  प्रिन्सिपलसहित ३ जना धरौटीमा रिहा  

काठमाडौँ । चितवनको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालीन पोखरेलको आत्महत्या दुरुत्साहन मुद्दाका तीनै अभियुक्त धरौटीमा रिहा भएका छन्।

मंगलबार जिल्ला अदालत चितवनका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले पक्राउ परेका तीन शिक्षकलाई धरौटी जमानीमा छोडेर मुद्दा अघि बढाउन आदेश दिएको हो।

घटनाको २० दिन लामो अनुसन्धानपछि स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्माविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग लगाइएको छ।

सोमबारदेखि भएको थुनछेक बहसपछि न्यायाधीश ज्ञवालीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटालाई तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच–पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले तीनै जना शिक्षकविरुद्ध शालीनको मृत्युमा आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो।