स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रसारमा सहयोग पु¥याउने भन्दै उनले भने, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए ।

दुई लाख ५० हजार अवलोकनकर्ताका साथै रु पाँच करोडको कारोबार गर्दै नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आज सम्पन्न भएको हो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए । मेलाले देशभरकै उत्पादन प्रवद्र्धनमा सहयोग पु¥याउने उनले बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पु¥याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

धेरै समस्या हुँदाहुँदै पनि मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै मेला संयोजक शोभा गुरुङले भइन्, “देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरूले गरेको योगदानको उचित कदर हुनसकेको छैन ।”

मेलामा कति खरिद–बिक्री भयो, कति मान्छे आए भन्नुभन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुनसक्यो त्यो महत्वपूर्ण रहेको मेला संयोजक गुरुङको भनाइ छ । सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्घता गरेकाले र सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने उनको भनाइ थियो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक यही फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो ।

महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो । प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौँको लड्डु, फापरको मःम, मार्सीको खिर, चिनोको सेल उपभोक्ताले निकै मन पराएका थिए ।