दोल्ती पावर कम्पनीको आईपीओ सोमबार देखि बिक्री खुला हुने

काठमाडौँ - दोल्ती पावर कम्पनीको आईपीओ सोमबार देखि बिक्री खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथा आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गर्नेछ ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमिा रहेका नेपालीले फागुन २५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन् । स्थानीयले भने छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ७ गतेसम्म बिक्री खुला गरिनेछ ।