चन्द्रागिरिमा पहिलो पटक नगर प्रहरी परिचालन

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले पहिलो पटक चन्द्रागिरिमा नगर प्रहरी परिचालन गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा २४ जना  नगर प्रहरीलाई आधारभूत तालिम सहित दज्र्यानी चिह्नसमेत प्रदान गरेको छ।

बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दर्जानी चिह्न प्रदान गरेका छन् । सोही अवसरमा उपप्रमुख बसन्ती श्रेष्ठ,नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको पनि उपस्थिति रहेको थियो। 

नगरपािलकाले नगर प्रहरीको लागि २५ आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको नगरप्रमुख गिरीले बताए । अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने र नगरप्रहरीका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने नगरप्रमुख गिरीले बताए।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीलाई तालिम प्रदान गरिएको थियो। तालिममा अग्नि नियन्त्रण, आपत्कालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हूल तथा दङ्गा व्यवस्थापनलगायतमा प्रशिक्षण दिइएको थियो।