राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा पुर्‍याइयो मतपत्र

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि  सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

जसमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् ।

१९ राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते मतदान हुँदैछ ।