मधेस आन्दोलनको १७ वर्ष पूरा, आज छैटौँ बलिदानी दिवस मनाइँदैे

काठमाडौँ । अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा मधेस प्रदेशमा आज बलिदानी दिवस मनाइँदै छ । 

मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन् ।

वि.सं.२०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित गरिएको थियो । सो आन्दोलनलाई मधेसवादीले मधेस जनविद्रोहको संज्ञा दिने गरेका छन् ।

त्यसयता वि।सं। २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा ११७ जनाको ज्यान गएको मधेसवादी दलहरूले दाबी गर्दै आएका छन् । तर, मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्यांक छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।