सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ - पेसागत सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा हिजो बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।

हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच बुँदागत सहमति भएको हो । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए । सरकारले सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको छ । नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । वार्तामा सञ्चो अस्पताल कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप पाँच जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।