डेंगुको शंका लागे ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ । डेगु संक्रमण लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।

वर्षा लागेसँगै नियमित पानी परिरहेकाले डेंगु संक्रमण बढ्न सक्ने भएकाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो।

काठमाडौँ महानगरपालिकाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुको स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे।

उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए।