बालबालिकालाई आज भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं - सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।