कांग्रेसको महासमिति बैठक सोमबारदेखि गोदावरीमा सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हुने बैठकको सम्पूर्ण तयारी लगभग पूरा भएको जनाइएको छ ।

महासमिति बैठकमा पेश गर्नका लागि उपसभापति पर्ण बहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको छुट्टाछुट्टै प्रस्ताव तयार भइसकेका छन् । थापाको प्रस्तावमा अब हुने चुनावहरुमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उल्लेख छ ।

यो प्रस्ताव परिमार्जन गराउन संस्थापन पक्षले दबाब दिइरहेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्राप्त सुझावलाई समावेश गरेर प्रस्तावलाई पारित गरिसकेको छ ।

कांग्रेसले महासमिति बैठकमा प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई पनि सहभागी गराउने भएको छ ।

प्रदेश कार्यसमितिका सभापति सहित महासमिति सदस्य नरहेकाहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक तीन दिनसम्म गोदावरीमा हुने भएको छ ।